काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डनै सेमिफाइनलको मुख्य दाबेदार देखिएको छ ।
सेमिफाइनलको चौथों टोलीको रुपमा न्युजिल्याण्डनै मुख्य दाबेदार देखिएको हो ।
बिहीबार श्रीलंकाविरुद्धको शानदार जितले न्युजिल्याण्डलाई सेमिफाइनलको अन्तिम टोलीको रुपमा नजिक पुर्याएको छ ।
न्युजिल्याण्डसँगै सेमिफाइनल पुग्न पाकिस्तान र अफगानिस्तानको समेत गणितिय सम्भावना बाँकी छ । तर न्युजिल्याण्डलाई रोक्न पाकिस्तान वा अफगानिस्तानले चमत्कारी प्रर्दशन गर्नुपर्ने देखिन्छ ।
भारत, साउथ अफ्रिका र अष्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । प्रतियोगिताको एक्लो अपराजित टिम भारतले ८ खेलमा सतप्रतिशत जित सहित १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ । साउथ अफ्रिका र अष्ट्रेलियाले समान १२ अंक जोडेर क्रमश दोस्रो र तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका छन् ।
सेमिफाइनल खेलमा साउथ अफ्रिका र अष्ट्रेलियानै भिड्ने पक्का भैसकेको छ । भारतसँग भिड्ने अन्तिम टोलीको टुङ्गो लाग्न बाँकी छ । तर बिहीबारको नतिजाले न्युजिल्याण्डनै भारतको प्रतिद्धन्दी हुने सम्भावनालाई बलियो बनाएको छ ।
सेमिफाइनलको सम्भावना बोकेको न्युजिल्याण्डले लिग चरणको अन्तिम खेलमा श्रीलंकालाई हराएर १० अंक जोड्यो । न्युजिल्याण्ड जस्तै १० अंक जोड्ने सम्भावना पाकिस्तान र अफगानिस्तानको बाँकी छ । पाकिस्तानले अन्तिम खेलमा इङ्ल्याण्ड र अफगानिस्तानले साउथ अफ्रिकासँग खेल्नेछन् ।
पाकिस्तानले अन्तिम खेल इडेन गार्डेनमा इङ्ल्याण्डविरुद्ध खेल्नेछ । बाबर आजम नेतृत्वको पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गर्न इङ्ल्याण्डलाई कम्तिमा २ सय ८७ रनको अन्तरले जित्नुपर्ने हुन्छ ।
यसका लागि पाकिस्तानले ४ सय रन भन्दा माथिको ठुलो स्कोर मात्र बनाएर पुग्ने छैन, उस्तै जबर्जस्त बलिङ समेत देखाउनुपर्ने हुन्छ ।
इङ्ल्याण्डविरुद्ध लक्ष्य पछ्याउने समिकरण बनेको खण्डमा पाकिस्तानले १६ बलमै इङ्ल्याण्डलाई हराउनुपर्ने हुन्छ । यस्तो चमत्कारी प्रर्दशनको सम्भावना कम देखिन्छ ।
पाकिस्तान भन्दा कमजोर रनरेट भएको अफगानिस्तानलाई सेमिफाइनल पुग्न अझ कठिनै देखिन्छ ।