पथरी । दोश्रो क्वालिफायरमा रोयल किङलाई ३३ रनले पराजित गर्दै गोर्खा लिजेण्ड चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबारको दोश्रो क्लालिफायरमा गोर्खाले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको रोयलले १ सय १४ रन मात्र बनाउन सक्यो ।
रोयलका लागि शिवम यादबले अर्धशतक इनिङ्स खेले पनि टिमलाई फाइलनसम्म पुर्याउन सकेनन् ।
यादबले ६६ रन बनाए । उनी सोलोमन राईको बलमा आउट भए । यादबले आक्रमक इनिङ्स खेल्दै ६ छक्का ५ चौका प्रहार गरे । रोयलका लागि एन्जल राईले १५ र राज बस्नेतले १४ रन बनाए ।
रोयललाई रोक्न गोर्खाका आभाष पाहिमले एक्लै ४ बिकेट लिए । सोलोमन राईले २ र सुजन थपलिया र फडिन्द्र पौडेलले समान १-१ बिकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गोर्खाले ८ बिकेटको क्षतीमा १ सय ५७ रन बनायो । जसका लागि राज पालुङाले अर्धशतक बनाए । उनले ८ छक्का र ५ चौकाको मद्धतले ७४ रनको इनिङ्स खेले । राजको लिगमा यो तेश्रो अर्धशतक हो । समित राईले ३४ र सोलोमन राईले १३ रन बनाए ।
रोयलका दिवस राजबंशी, सोनु मण्डल र सुवास भण्डारीले समान २, २ बिकेट लिए । शिवम यादबले १ बिकेट झारे ।
खेलको म्यान अफ दि म्याच गोर्खाका राज पालुङा घोषित भए ।
शनिबार फाइनल खेल हुनेछ । आइतबारे अस्त्र यसअघि नै फाइलनमा प्रवेश गरिसकेको छ ।
रोयलले इलिमेटरमा बिरेन्द्रनगर स्टिल टाइगरलाई पराजित गरेर दोश्रो क्वालिफायर खेलेको हो भने पहिलो क्वालिफायरमा आइतबारेसंग पराजित भएर गोर्खाले रोयलसंग भिडेको हो ।
प्रतियोगिताको बिजेताले १ लाख ३१ हजार र ट्रफी प्राप्त गर्नेछ । उपबिजेताले ७१ हजार १ सय रुपयाँ प्राप्त गर्नेछ । नगरभित्रका ७ फ्रेन्चाइज टिम यो संस्करणमा प्रतिस्पर्धा गरेका छन् ।
कार्तिक १० बाट सुरु भएको लिगमा यस पटक नगर बाहिरका खेलाडी समेत समाबेश छन् । सोही कारण प्रतियोगिताको रौनक बढेको आयोजकले दाबी गरेको छ ।
प्रदेश स्तरमा प्रर्दशन गरेका क्रिकेट खेलाडीले आफ्नो खेल कौशल मैदानमा देखाएका थिए ।