काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतसँग श्रीलंकाले लज्जास्पदक हार ब्यहोरेको छ । शुक्रबार भएको खेलमा भारतले श्रीलंकामाथि ३ सय २ रनको जित दर्ता गरेको छ ।
शानदार जित सहित भारत भने विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वानखडे स्टेडियममा भारतले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका मात्र ५५ रनमा समेटियो । श्रीलंकाले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएको थियो ।
कसुन राजिथाले १४ तथा महेश थिक्षणा र एन्जेलो मेथिसले समान १२ रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
मोहमद सामीले ५ तथा मोहमद सिराजले ३ विकेट लिएपछि श्रीलंकाको इनिङ्स पुरै धरासायी बनेको थियो । जसमा जसप्रीत बुम्राहा र रविन्द्र जडेजाले समान १ विकेट लिएका थिए ।
सुरुआती ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर ३ सय ५७ रन बनाएको थियो । ओपनर रोहित शर्मालाई ४ रनमा गुमाएपनि त्यसपछिका ब्याटरले शानदार ब्याटिङ प्रर्दशन गरेका थिए । सुभमन गिलले ९२ रन बनाएको इनिङ्समा विराट कोहलीले ८८ र श्रेयश इयरले ८२ रन बनाएका थिए ।
केएल राहुलले २१, सुर्यकुमार यादवले १२, रविन्द्र जडेजाले ३५ र मोहमद सामीले २ रन बनाएका थिए । जसप्रीत बुम्राहा १ रनमा अविजित रहेका थिए ।
श्रीलंकाका मदुशंकाले ५ विकेट चट्काएका थिए । दुष्मंथा चमिराले १ विकेट झारेका थिए ।
भारत प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । भारतले यस विश्वकपमा ७ खेलमा अपराजित रहदै १४ अंक बटुलेर शीर्ष स्थानमा छ । श्रीलंका मात्र २ खेलमा जित निकाल्दै ४ अंक सहित सातौं स्थानमा छ ।