काठमाडौं । विश्वकप छनोटमा नेपालले मलेसियामाथि ६ विकेटको जित दर्ता गरेको छ ।
छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई हराएको हो ।
मलेसियाले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदै मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको जितमा कुशल मल्लले ६५ रनको शानदार इनिङ्स खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकाको मदतले सो रन बनाएका हुन् ।
ओपनरद्धय कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३२ रन जोड्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । निकै आक्रमक ब्याटिङ गरेका भुर्तेलले २५ बलमा ४३ रनको इनिङ्स खेलेका थिए ।
कप्तान रोहित पौडेल २ रनमा पोविलियन फर्कदा सन्दीप जोरा १८ र विवेक यादव २ रनमा नटआउट रहे ।
मलेसियाका मुहमद आमिरले ३ तथा प्रविनदीप सिंहले एक विकेट हात पारेका थिए ।
यसअघि, त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
ओपनर सैयद अजीजले ६८ र जुबैदी जुल्किफले २४ रन बनाउँदै मलेसियालाई शानदार सुरुआत दिलाएका थिए । तर त्यसपछिका ब्याट्सम्यान खासै जम्न सकेनन् ।
नेपालका अविनाश बोहोराले ४ विकेट लिए । रोहित पौडेल, गुल्सन झा र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो ।
नेपालले समूह चरणका दुवै खेलमा जित निकाल्दै ४ अंक जोडेको छ । पछिल्लो जितले नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।