काठमाडौं । आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटको खेलमा सिंगापुरले नेपाल समक्ष १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो ।
रोहन रंगराजनले ४६ रन बनाउँदै सिंगापुरलाई राम्रो सुरुआत दिलाएका थिए । तल्लो क्रममा आएका आर्याविर चौधरीले ३७ रन बनाए । मनप्रीत सिंहले समेत २४ रनको इनिङ्स खेले । अन्यले भने दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका लागि अविनाश बोहोराले ३ तथा करन केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान १ विकेट लिए ।
विश्वकप छनोटको पहिलो खेलमा नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल प्रतियोगिताको समूह एमा छ । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम विश्वकपमा छनोट हुनेछन् ।