एजेन्सी । फिफा विश्वकप अन्तर्गत नाइजेरियाविरुद्ध हुने समूह चरणको अन्तिम खेलको लागि अर्जेन्टिनाले तयारी थालेको छ । अघिल्ला दुई खेलमा लज्जास्पद प्रदर्शन गरेको अर्जेन्टिना अन्तिम खेल जित्ने लक्ष्यसहित तयारीमा लागेको हो ।
अर्जेन्टिनाको तयारीमा कप्तान लियोनल मेस्सी पनि सामेल भएका छन् । क्लब फुटबलमा तहल्का मच्चाउन सफल मेस्सी विश्वकपमा भने चुकिरहेका छन् । दुई खेलमा गोल गर्न नसकेका मेस्सीले एक पेनाल्टी अवसरमा समेत गोल गर्न सकेनन् ।
पहिलो खेलमा आइसल्याण्डविरुद्ध १ – १ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना बिहिबार राति क्रोएसियासँग ३ – ० ले हारेको थियो । क्रोएसियासँगको हार अर्जेन्टिनी फुटबलले पहिलो पटक विश्वकपको समूह चरणमा ठुलो पराजय हो ।
उक्त हारले अर्जेन्टिनाको समूह चरण पार गर्ने सम्भावना निकै न्यून भएको थियो । तर, नाइजेरियाले आइसल्याण्डलाई हराएपछि अर्जेन्टिनाको दोस्रो चरण पुग्ने आशा भने पलाएको छ ।
अब अर्जेन्टिनाले मंगलबार नाइजेरियासँग खेल्दै छ । अर्जेन्टिना अहिले त्यही खेलमा जित निकाल्न लागिपरेको छ ।