हान्झाउ । एसियाली खेलकुद पत्रकार महासंघ एआइपीएस एसियाले खेलकुद पत्रकार निरञ्जन राजवंशीलाई सम्मान गरेको छ।
एआइपीएस एसियाले पाँच वटा र सो भन्दा वढी पटक एसियाली खेलकुदको रिपोर्टिङ गर्दै लामो समय योगदान दिएका एसियाभरीका पत्रकारहरुलाई कदर गर्ने क्रममा नेपालबाट राजवंशी सम्मानित भएका हुन्।
हान्झाउको मेन प्रेस सेन्टरमा आयोजित कार्यक्रममा ओलम्पिक च्याम्पियन तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीका सदस्य सियोङ मिन रियु, एआइपीएस एसियाका अध्यक्ष हि डोङ जोङ र उपाध्यक्ष मुबारक अल बोनिनले प्रमाणपत्र प्रदान गरेका थिए।
एआइपीएसले अन्तर्राष्ट्रिय रुपमा लामो समय रिपोर्टिङ गर्ने पत्रकारहरुलाई सम्मान गर्ने परम्पराको शुरु गरेपछि एआइपीएस एसियाले यो वर्षको एसियाली खेलकुदबाट सम्मानको अभियान थालेको हो। जसमा यो वर्ष ६९ जना पत्रकारहरु सम्मानित भए।
राजवंशीले सन् १९९८ को बैंकक, सन् २००२ को बुसान, सन् २०१० को ग्वान्जाउ, सन् २०१४ को इन्चोन तथा हान्झाउ एसियाडमा रिपोर्टिङ गरेका थिए।
सम्मानित भएपछि राजबंशीले भने, एसियाली खेलकुदमा रिपोर्टिङ गरेको पनि २५ वर्ष भइसकेछ। त्यसमा अन्तर्राष्ट्रिय रुपमा सम्मानित हुन पाउँदा खुशी लागेको छ।
सम्मानित हुनेहरुमा सबैभन्दा वढी १० पटक एसियाडमा भाग लिएका चीनका वेई सेङ थिए।
कार्यक्रममा एआइपीएस एसियाका अध्यक्ष हि डोङ जोङ अब एसियाडको हरेक संस्करणमा धैर्यतापूर्वक लामो समय योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान नियमित रुपमा गर्ने बताए।
उनले भने, एसियामा लामो समय खेलकुद पत्रकारितामा योगदान दिनेहरु धेरै छन्। हामी ती सबैलाई सम्मान गर्दै जानेछौं।