काठमाडौं । राष्ट्रिय क्रिकेट टिम विशेष प्रशिक्षणका लागि भारतको नागपुर लागेको छ । टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्ने तयारी गरिरहेको नेपाल विशेष प्रशिक्षणका लागि नागपुर गएको हो ।
नागपुरमा रहेको इन्डियन प्रिमियर लिग आईपीएलको टिम राजस्थान रोयल्स एकेडेमीमा नेपाली टिमको १० दिन बन्द सत्र चल्नेछ । शुक्रबार बिहान १४ सदस्यीय क्रिकेट टिम नागपुर लागेको हो । यसअघिनै ९ जना खेलाडीले नियमित रुपमा नागपुरमा बिशेष प्रशिक्षण गरिरहेका छन् । नेपाली टिममा सन्दीप लामिछाने सहभागी छैनन् ।
क्रिकेट म्यानेजर बिनोद दासले नेपाली क्रिकेट टिमले नागपुर एकेडेमीमा रहेको सम्पुर्ण सुविधा प्रयोग गर्न पाउने गरि प्रशिक्षणको ब्यवस्था मिलाईएको हो । ‘हरेक खेलाडीले आफ्नो भुमिका अनुसारको तयारी गर्न पाउँछन् । जसले खेलाडीको क्षमता अभिवृद्धि गर्न मदत गर्छ ।’ दासले खेलपाटीसँग भने ।
नेपालले टी ट्वान्टी विश्वकपको एसिया छनोट खेल्दैछ । त्यसैको तयारीका लागि खेलाडीलाई भारतमा विशेष बन्द प्रशिक्षणमा क्यानले सहभागी गराएको हो ।