काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्याण्डले ईङ्ल्याण्डविरुद्ध ९ विकेटको जित दर्ता गरेको छ ।
भारतको अहमेदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बिहीबार भएको खेलमा न्युजिल्याण्डले पछिल्लो विश्वकप क्रिकेटको फाइनल खेलको बदला लिदै ईङ्ल्याण्डलाई ९ विकेटले हराएको हो ।
ईङ्ल्याण्डले लिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले मात्र १ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । विल योङ्ग शुन्य रनमा आउट भएपनि ओपनर डेबोन कान्वे र रचिन रवीन्द्रले शतकीय पाली खेल्दै न्युजिल्याण्डलाई जित दिलाए ।
कान्वेले १ सय ५२ रनको शतकिय ईनिङ्स खेलेको खेलमा रवीन्द्रले नटआउट १ सय २३ रनको योगदान गरे । ईङ्ल्याण्डका साम कुरानले एक विकेट हात पारे ।
सुरुआती ब्याटिङ गरेको ईङ्ल्याण्डले ९ विकेटको क्षतीमा २ सय ८२ रन बनाएको थियो । जोए रुटले बनाएको ७७ रन टोलीको सर्वाधिक स्कोर रह्यो ।
जोस बटलरले ४३, जोनी ब्रेस्थोले ३३, ह्यारी ब्रोकले २५ र लियाम लिविन्गस्टोनले २० रन बनाए । आदिल रासीदले १५ र डेविड मालन र साम कुरानले समान १४ रन बनाए । मार्क वुड १३ रनमा अविजित रहे ।
न्युजिल्याण्डका माट हेनरीले ३ तथा मिचेर सेन्टनर र ग्लेन फिलिप्सले समान २ विकेट हात पारे । ट्रेन्ट बोल्ट र रचिन रबिन्द्रले समान एक विकेट हात पारे ।
एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले शानदार सुरुआत गरेको छ । र अघिल्लो विश्वकपको फाइनलमा हारेको बदला समेत न्युजिल्याण्ड टिमले लिएको छ ।