काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप आज बिहीबारबाट सुरु हुदैछ । पहिलो खेलमा न्युजिल्याण्ड र इङ्ल्याण्ड भिड्दैछन् ।
खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सवाँ २ बजे सुरु हुनेछ ।
सन् २०१९ को विश्वकपको फाइनल खेलेका दुवै टिमले सन् २०२३ को विश्वकपको पहिलो म्याच खेल्दैछन् । सो विश्वकपमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो ।
दुवै टिमले पछिल्लो पटक चार म्याचको सिरिज इङ्ल्याण्डमा खेलेका थिए । जसमा इङ्ल्याण्ड ३–१ ले विजयी बनेको थियो । दुवै टिमका शीर्ष खेलाडी सिरिजमा अनुपस्थित रहेका थिए ।
इङ्ल्याण्ड जोस बटलरको नेतृत्वमा मैदान उत्रनेछ भने न्युजिल्याण्डलाई केन विलियम्सले नेतृत्व गर्नेछन् ।
अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् ।