एजेन्सी । विश्वकप फुटबलमा आज हुने पहिलो खेलमा बेल्जियम र ट्युनिसियाले प्रतिस्पर्धा गर्दै छन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ५ : ४५ मा सुरु हुनेछ ।
मस्कोस्थित स्पार्टक रंगशालामादुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो खेलमा जित निकालेको बेल्जियम दोस्रो खेलमा पनि जित निकाल्न चाहन्छ । यस्तै पहिलो खेलमा पराजय बेहोरेको ट्युनिसिया बेल्जियमलाई हराएर दोस्रो चरणको सम्भावना कायम राख्न चाहन्छ ।
जितको लक्ष्यसहित दुई टोली मैदान प्रवेश गर्दै गर्दा चर्चामा हुनेछन्, रोमेलु लुकाकु र वाह्बी खाज्री । लुकाकु बेल्जियमका मुख्य हतियार हुन् भने खाज्री ट्युनिसियाका । यी दुई खेलाडीको प्रदर्शनले खेलमा टिमको हार र जितमा फरक आउने छ ।
प्लेयर्स टु वाच :
रोमेलु लुकाकु (बेल्जियम )
रुस विश्वकपमा रोमेलु लुकाकु बेल्जियमका मुख्य स्ट्राइकर हुन् । लुकाकुले आफुलाई प्रमाणित समेत गरिसकेका छन् । पहिलो खेलमा दुई गोल र एक गोलको लागि पास उपलब्ध गराउन सफल लुकाकु आज पनि बेल्जियमका मुख्य हतियार हुने छन् ।
इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राइकर लुकाकु निकै लयमा समेत छन् । २५ बर्षिय लुकाकुले सिजन प्रिमियर लिगको ३४ खेलमा १६ गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगको ८ खेलमा ५ गोल गर्न सफल भएका छन् ।
विश्वकप छनोटको ८ खेलमै ११ गोल गरेका लुकाकु गोल गर्न माहिर खेलाडी मानिन्छन् । लामो लामो पास खेल्न, मैदानमा पुरा समय आफ्नो लगाब लगाएर खेल्ने खुबी भएका लुकाकु आज ट्युनिसियाको लागि घातक हुन सक्छन् ।
वाह्बी खाज्री (ट्युनिसिया)
युरोपकै बलियो राष्ट्र बेल्जियमविरुद्ध मैदान उत्रदा ट्युनिसियाका लागि वाह्बी खाज्री महत्वपूर्ण खेलाडी हुने छन् । उनको उच्च प्रदर्शनले ट्युनिसियाको विश्वकप यात्रा भर पर्नेछ ।
अग्ला कदका खाज्री ट्युनिसियाका मुख्य स्ट्राइकर हुन् । बल पोजिसनमा पकड राख्न र लामो सट खेल्न सक्ने खाज्रीले बेल्जियमको डिफेन्सलाई आज काबुमा राख्न सक्ने छन् । फ्रान्सेली लिगमा स्टेड रेन्नैसबाट खेल्दै आएका खाज्री लोनमा इन्ग्लिश क्लब सन्डरल्याण्डबाट त्यहाँ पुगेका हुन् । लिग वानमा यो सिजन २५ खेलमा खाज्रीले ९ गोल गरेका थिए ।
विश्वकप छनोटमा ट्युनिसियाको लागि खाज्रीले दुई खेल खेलका थिए । अफ्रिकी कपमा भने ४ खेल खेल्दै १ गोल गरेका थिए ।