काठमाडौं । आगामी महिना नेपालमा आयोजना हुने टी-ट्वान्टी विश्वकप छनोटमा नेपालसँग एकै समूहमा रहेको ओमानले बलियो टोली युएईलाई हराएको छ ।
ओमानले पहिलो संस्करणको गल्फ क्रिकेट टी-ट्वान्टी आई च्याम्पियनसिपको फाइनलमा युएईलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो ।
युएईले दिएको १ सय ६४ रनको लक्ष्य ओमानले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
कप्तान अकिब इलियासले ३३ बलमा ८ चौका र ४ छक्कासहित ६७ रनको अर्धशतकीय ईनिङ खेले । आयन खान ३८ बलमा ४ चौकासहित अविजित ५३ रनको अर्धशतकीय ईनिङ खेले ।
शोएब खान २१ बलमा १ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।
युएईका लागि मोहम्मद जवादुल्लाह र जहुर खानले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।
युएईका कप्तान मोहम्मद वासिमले ३१ बलमा २ चौका र ४ छक्कासहित ४६ रन बनाए ।
आसिफ खान ३३ बलमा १ चौका र ३ छक्कासहित ३८ रन बनाए । बासिल हामिद २३ बलमा १ चौका र ३ छक्कासहित अविजित ३६ रनमा बनाए ।
अली नासिर १० बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे ।
ओमानका लागि बिलाल खान र कप्तान अकिब इलियासले समान २/२ विकेट लिए ।
आगामी महिना हुने विश्वकप छनोटमा नेपाल र ओमान समूह ए मा रहेका छन् । नेपाल र ओमानबीचको खेल कार्तिक १६ गते रहेको छ ।