काठमाडौं । भारतमा आयोजना हुने आईसीसी एकदिवसिय विश्वकपका लागि पाकिस्तानी टोलीको घोषणा भएको छ ।
पाकिस्तानी क्रिकेट बोर्डले बाबर अजामको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो ।
तीव्र गतिका बलर नसीम शाह चोटका कारण आइसीसी पुरुष विश्वकप क्रिकेट टोलीबाट बाहिरिएका छन् ।
एसिया कपमा भारतविरुद्ध सुपर फोरमा भएको खेलमा घाइते भएका शाहले केही महिना मैदान बाहिर रहने छन् ।
यद्यपि, पाकिस्तानको टोलीमा पर्याप्त अनुभवी नामहरू समावेश छन्।
बाबरको साथमा ब्याटिङमा फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान, इफ्तिखार अहमद र सलमान आगा छन् । यस्तै मोहम्मद हारिस र मध्यक्रमका ब्याट्सम्यान साउद शकीलको युवा जोडी पनि टोलीमा समावेश छ ।
हरिसको कप्तानमा पाकिस्तानले इमर्जिङ एसिया कप २०२३ को उपाधी जितेको थियो ।
पाकिस्तानसँग शादाब खान र मोहम्मद नवाज दुई स्पिन बलिङ अलराउन्डर पनि छन् । सलमान आगा र इफ्तिखार अहमद पनि स्पिन बलिङ अलराउन्डरका रुपमा टिममा रहेका छन् ।
पाकिस्तानको तीव्र गति बलिङको नेतृत्व शाहीन शाह अफ्रिदीले गर्नेछन् । उनलाई समर्थन गर्नेमा हारिस रउफ, मोहम्मद वसीम र हसन अली रहेका छन् ।
पाकिस्तानले हालै एसिया कपमा सहभागिता जनाए पनि सोचे अनुरुपको प्रदर्शन नरहँदा फाइनलमा स्थान बनाउन सकेको थिएन ।
पाकिस्तानले ६ अक्टोबरमा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ ।
पाकिस्तानको टोली
बाबर आजम (कप्तान), शादाब खान, फखर जमान, इमाम उल हक, अब्दुल्ला शफीक, मोहम्मद रिजवान, सऊद शकील, इफ्तिखार अहमद, सलमान अली आगा, मोहम्मद नवाज, उस्मा मीर, हारिस राउफ, हसन अली, शाहीन शाह अफ्रिदी, मोहम्मद वासिम