काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आर्सनलले शानदार सुरुआत गरेको छ । युरोपको इलिट प्रतियोगितामा फर्किएको आर्सनलले पहिलो खेलमा पीएसभी इन्दोभेनमाथि ४–० को रवाफिलो जित निकालेको हो ।
घरेलु मैदानमा आर्सनलले डच क्लबलाई कुनै गोलको अवसरनै दिएन । खेलको आठौं मिनेटमा बुकायो साकाको गोलमा आर्सनलले खेलमा अग्रता लिएको थियो ।
उनै साकाको पासलाई सदुपयोग गर्दै लियान्ड्रो ट्रोसार्डले २० औं मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर बनाए ।
पुन तिनै ट्रोसार्डको पासमा ग्याब्रियल जिससले गोल गर्दै आर्सनललाई ३–० को अवस्थामा पुर्याएका थिए ।
पहिलो हाफमै ३–० ले अघि बढेको आर्सनलले दोस्रो हाफमा एक गोल थप्यो । मार्टिन ओडेगार्डले ७० औं मिनेटमा गोल गर्दै आर्सनललाई ४–० को शानदार जित दिलाउन सफल रहे ।
सोही समूह बीको अर्को खेलमा फ्रेन्च क्लब लेन्स र स्पेनिस टोली सेभिल्लाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए । पछिल्लो २० वर्षमा दुवै टिम पहिलो पटक च्याम्पियन्स लिगमा उत्रिएका थिए ।
समूहमा आर्सनलले ३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबारनै रातिनै समूह डीको खलमा स्पेनको रियल सोसिडाडले इन्टर मिलानसँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो ।
सोही समूहको अर्को खेलमा आरबी साल्जवर्गले बेन्फिकालाई २–० ले हरायो । समूहमा साल्जवर्ग तीन अंक जोडेर शीर्ष स्थानमा छ । इन्टर र सोसिडाडको समान १ अंक छ ।