काठमाडौं । नेपालका सुन्दर नरसिंह जोशी साफको प्रतियोगिता प्रमुखमा नियुक्त भएका छन् । शनिबार साफको कार्यसमिति बैठकले जोशीलाई प्रतियोगिताको चेयरमेन (प्रमुख)मा नियुक्त गरेको हो ।
साफ हेडक्वार्टर बंगलादेशमा बसेको बैठकले चार स्थायी समिति गठन गर्दा प्रतियोगिता समितिको प्रमुखमा नेपालको ए डिभिजन क्लब एनआरटी क्लबका जोशीलाई प्रमुखको जिम्मेवारी दिएको हो ।
प्रतियोगिता सहित साफ बैठकले आर्थिक, मार्केटिङ र विकास समिति गठन गरेको छ ।
यस्तै साफ बैठकले सन् २०२४ को कार्य तालिकालाई समेत पारित गरेको छ । बैठकको निर्णय अनुसार साफले आगामी वर्ष चार युथ प्रतियोगिता र एक सिनियर महिला प्रतियोगिताको आयोजना गर्नेछ ।
जसमा साफ यू–१९ महिला, साफ यू–१६ महिला, साफ यू–२० च्याम्पियनसिप, साफ यू–१७ च्याम्पियनसिप र साफ च्याम्पियनसिप रहेका छन् ।
बैठकमा साफ क्लब च्याम्पियनसिप सञ्चालनको विषयमा समेत छलफल भएको थियो । र निश्चित ढाचा सहित सहभागी हुने सदस्यबीच सहमती जुटाउने निर्णय बैठकले गरेको छ ।