काठमाडौं । हेनरिक क्लासेनको विष्फोटक शतकसँगै दक्षिण अफ्रिकाले चौथो ओडिआई खेलमा अष्ट्रेलियालाई फराकिलो अन्तरले पराजित गरेको छ ।
दक्षिण अफ्रिकामा शुक्रबार राती सम्पन्न चौथो ओडिआई खेल घरेलु टोलीले १ सय ६४ रनको फराकिलो जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलको ओडिआई सिरिज २–२ को बराबरीमा पुगेको छ ।
दक्षिण अफ्रिकाले दिएको ४ सय १७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४ दशमलब ५ ओभरमा २ सय ५२ रनमा अलआउट भयो ।
अष्ट्रेलियाका लागि एलेक्स केरी ७७ बलमा ९ चौका र ४ छक्कासहित ९९ रनको अर्धशतकीय ईनिङ खेल्दै आउट भए।
टिम डेविडले २५ बलमा २ चौका र ३ छक्कासहित ३५ तथा मार्नस लाबुसेन २० रन बनाए ।
दक्षिण अफ्रिकाका लागि लुन्गी एनगिडीले ४ तथा कागिसो रबाडाले ३ विकेट लिए । मार्को यानसन र केशव महाराजले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ गुमाउँदै ४ सय १६ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ८३ बलमा १३ चौका र १३ छक्कासहित १ सय ७४ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए ।
ओडिआई करिअरको दोस्रो शतक क्लासेनले ५७ बलमा शतक पूरा गरेका थिए ।
डेविड मिलर ४५ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा अविजित रहे । रास्सी भान डर डुसेन ६५ बलमा ७ चौका र २ छक्कासहित ६२ रनमा आउट भए ।
अष्ट्रेलियाका लागि जोश हेजलवुडले २ तथा मार्कस स्टोइनिस, माइकल नेसेर र नाथन एलिसले समान १/१ विकेट लिए ।
दुईबीचको पाँचौं तथा निर्णायक खेल आइतबार हुनेछ ।