काठमाडौं । भारत र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकिएको छ ।
एसिया कप क्रिकेटको सुपर फोरको भारत र श्रीलंकाबीचको खेल वर्षाका कारण रोकिएको छ ।
श्रीलंकाका युवा बलर दुनिथ वेललेज र चरिथ असलंका चम्कँदा भारतले १ सय ९७ रनमा ९ विकेट गुमाएको स्थितिमा खेल रोकिएको हो ।
वर्षा सुरुहुनु अघि श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।
भारतका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ५३ रनको अर्धशतकीय ईनिङ खेले । पहिलो विकेटका लागि शर्मा र शुभमन गिलले ६७ बलमा ८० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
गिलले २५ बलमा १९ रन बनाए । शर्मालाई ५३ रनमा दुनिथले आउट गरेका थिए । तेस्रो विकेटका लागि केएल राहुल र ईशान किशनले ८९ बलमा ६३ रनको सानदारी साझेदारी गरेका थिए ।
राहुलले ४४ बलमा ३९ तथा किशनले ६१ बलमा ३३ रन बनाएका थिए । एक समय १ सय ५३ रनमा ३ विकेट मात्र गुमाएको भारतले ४४ रन जोड्दा बाँकी ६ विकेट गुमाएको थियो ।
श्रीलंकाका लागि दुनिथले १० ओभरमा ४० रन खर्चिएर महत्वपुर्ण ५ विकेट लिएका थिए । उनले कप्तान शर्मा, ओपनर गिल, पूर्व कप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए ।
चरिथ असलंकाले ९ ओभरमा १८ रन खर्चिएर ४ विकेट लिएका थिए ।
पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो । दुवै टोली लगातार दोस्रो जितका दर्ता गर्दै फाइनल सम्भावना मजबुत बनाउन चाहन्छन् ।
श्रीलंका पछिल्लो १३ ओडिआई खेलमा अपराजित रहेको छ । विश्व क्रिकेटको बलियो टोली भारतसँग श्रीलंकाको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ ।
पछिल्लो पाँच भेटमा भारत चार तथा श्रीलंका एक खेलमा विजयी भएको छ ।
सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।
चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।