काठमाडौं । इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा न्युजिल्यान्डलाई पराजित गरेको छ ।
आईतबार राती साउथह्याप्टनमा सम्पन्न खेलमा घरेलु टोली ७९ रनले विजयी भएको हो । वर्षाका कारण खेल ३४ ओभरमा छोट्याईएको थियो ।
जितसँगै घरेलु टोलीले चार खेलको ओडिआई सिरिज १-१ को बराबरीमा पुर्याएको छ ।
इंग्ल्यान्डले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड २६ दशमलब ५ ओभरमा १ सय ४७ रनमा अलआउट भयो ।
न्युजिल्यान्डका लागि ड्यारियल मिचेलले ५२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले ।
विल योंग ३९ बलमा ३३ तथा कप्तान टम लाथमले २२ बलमा १९ रन बनाउँदै आउट भए ।
इंग्ल्यान्डका रिस टोप्ली र डेविड विल्लीले समान ३/३ तथा मोईन अलीले २ विकेट लिए । गस एटिनसनले एक विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ३४ ओभरमा ७ विकेट गुमाउँदै २ सय २६ रन बनायो ।
इंग्ल्यान्डका लियम लिभिङस्टोनले ७८ बलमा ९ चौका र १ छक्कासहित अविजित ९५ रनमा बनाए ।
साम करनले ३५ बलमा १ चौका र २ छक्कासहित ४२ रन बनाए । कप्तान जस बटलर २५ बलमा ३० रन बनाउँदै आउट भए ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट ३ तथा टिम साउथीले २ विकेट लिए । म्याट हेनरी र मिचेल सान्टनारले समान १/१ विकेट लिए ।
दुईबीचको तेस्रो ओडिआई खेल बुधबार हुनेछ ।