काठमाडौं । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुपर फोरको खेलमा आज शनिबार बंगलादेश र श्रीलंका भिड्दै छन् ।
दुई राष्ट्रबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ ।
बंगलादेश सुपर फोरको दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
यस खेलमा जित दर्ता गरेर बंगलादेश फाइनलको सम्भावना बलियो बनाउन चाहन्छ ।
सुपर फोरमा पहिलो खेल खेल्दै गरेको साबिकको विजेता श्रीलंका पनि सुखद सुरुआत गर्न चाहन्छ ।
समूह चरणमा एकै समूहमा रहेका बंगलादेश र श्रीलंकाबीचको खेलमा बंगलादेश पराजित भएको थियो ।
श्रीलंका समूह बी को विजेताको रुपमा सुपर फोरमा पुगेको हो ।
बंगलादेश समूह बी को उपविजेताको रुपमा सुपर फोरमा पुगेको हो ।
श्रीलंकाले समूह चरणमा बंगलादेश र अफगानिस्तानलाई पराजित गरेको छ ।
उता, बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पराजित भएकोमा दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।
सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।
चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।