काठमाडौं । अफगानिस्तानमा जारी काबुल प्रिमियर लिगमा साहिन हन्टर्स र अबासिन डिफेन्डर्सबीचको खेलका क्रममा एकै ओभरमा ४८ रन बनेको छ ।
लिगमा साहिन हन्टर्सबाट खेलिरहेका अफगानिस्तानका ब्याटर सेदिकुल्लाह अतलले एकै ओभरमा सात छक्का प्रहार गरेका छन् ।
अतलले अफगानिस्तानका अमिर जाजाईको बलिङमा सात छक्कासहित ४८ रन प्रहार गरेका हुन् । यो अविश्वसनीय प्रदर्शनका क्रममा अटलले पनि ४८ बलमा शतक पूरा गरेका थिए ।
खेलमा साहिन हन्टर्सका अतलले अबासिन डिफेन्डर्सबाट १९औँ ओभर बलिङका लागि आएका जाजईलाई ४८ रन प्रहार गरेका हुन् ।
जाजईको पहिलो बलमा अतलले छक्का प्रहार गरे । तर, उक्त बल ‘नो बल’ भएपछि हन्टर्सले सात रन पायो । त्यसपछिको बल वाइडसँगै चौका भएपछि हन्टर्सले पुनः पाँच रन पायो ।
यस्तै, ओभरको मान्यताप्राप्त पहिलो बलमा पनि अतलले छक्का प्रहार गरे । र, त्यसपछि जाजईले गरेको पाँचै बलमा लगातार अतलले छक्का प्रहार गरेपछि हन्टर्सले १९औँ ओभरमा सात छक्कासहित ४८ रन जोड्यो ।
२१ बर्षिय बायाँ हाते ब्याट्सम्यान अतलले अफगानिस्तानका लागि यसै वर्षको मार्चमा पाकिस्तानविरुद्ध एक टीट्वान्टी अन्तर्राष्ट्रिय खेलेका थिए ।
अतलले ५६ बलमा सात चौका र १० छक्कासहित अविजित ११८ रन बनाउँदा हन्टर्सले २१३ रनको योगफल खडा गरेको थियो ।
अघिल्लो वर्ष भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा भारतका ऋतुराज गायकवाडले एकै ओभरमा सात छक्कासहित ४३ रन जोडेका थिए ।
विजय हजारे ट्रफीमा महाराष्ट्रका गायकवाडले उत्तर प्रदेशका स्पीनर शिव सिंहको ओभरमा ४३ रन प्रहार गरेका थिए ।