काठमाडौं । ग्लोबल टी-ट्वान्टी क्यानडामा नेपालका स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा सर्रे जगुआर्सले सानदार जित हात पारेको छ ।
चौथो खेलमा दोस्रो जित दर्ता गरेको सर्रेले मिसिसागा प्यानथर्सलाई ५५ रनको फराकिलो अन्तरले पराजित गरेको छ । सर्रेको जितमा सन्दीपले महत्वपुर्ण तीन विकेट लिएका थिए ।
सर्रेले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको प्यानथर्स १७ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो ।
प्यानथर्सका क्यामरन डेलपोर्टले सर्वाधिक ३३ रन बनाए । डेलपोर्ट १२ दशमलब ४ ओभरमा सन्दीपको बलमा प्रगत सिंहबाट क्याच आउट भएका थिए ।
अर्का घातक मानिएका जिम्स निसम पनि सन्दीपको बलमा आउट भएका थिए । सन्दीपले १३ औं ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए । सन्दीपको २ विकेटसँगै सर्रेले खेल पुर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
सर्रेका लागि जतिन्दर सिंहले ४५ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए।
चौथो खेलमा दोस्रो जित हात पारेको जगुआर्स ५ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल बर्षाका कारण रद्द भएको थियो । तेस्रो खेलमा टोरन्टो नेशनललाई पराजित गरेको थियो ।
पाँचौ खेलमा समेत जितबिहिन प्यानथर्स अंक बिहिन रहँदै अंक तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।