काठमाडौं । पेताङ फेडरेसन अफ नेपालले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।
थाइल्यान्डको कराबीमा गत जुलाईमा भएको थाइल्यान्ड आमन्त्रण पेताङ च्याम्पियनसिपको महिला टिम इभेन्टमा कांस्य जितेका रञ्जना प्रधान, जमुना महर्जन र विष्णुमाया श्रेष्ठ सम्मानित भए ।
डिसेम्बर १ देखि ४ तारिखसम्म भारतको नयाँ दिल्लीमा भएको एसियन ओसिएना बोसे च्याम्पियनसिपका कांस्य विजेतालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । डबल्समा टेकराज जोशी र राजेन्द्र जोशी, सिंगल्समा क्षितिज खराल तथा मिक्समा खराल र सुष्मा उपाध्यायले कांस्य जितेका थिए ।
थाइल्यान्डकै प्रतियोगिताका दौरान भएको प्रशिक्षक तालिममा उत्तीर्ण हुन सफल अभिषेक भारी पनि सम्मानित भए ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।