पहिलो दिन नेपाललाई ६ स्वर्ण
1685718571.jpg&w=3840&q=75)
काठमाडौं । नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् ।
नेशनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजुकाइ कराते डो संघको प्राविधिक सहयोगमा सन्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनी तौलसमूहमा शिवपूरी डोजोका अरुण तामाङले स्वर्ण जिते ।
फाइनलमा उनले आईपीएसका सुसन तामाङलाई हराए ।
२५ केजीमूनि तौल समूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आईपीएसका सुशन चौलागाईलाई पराजित गरे ।
३० केजी तौल समूहमा दि चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्णपदक जिते । उनले फाइनलमा लुम्बिनी एकेडेमीका शौरभ चौधरीलाई पराजित गरे ।
पुरुषकै ४० केजीमूनि तौल समूहमा मित्रपार्क डोजोका श्रीयश शाही पहिलो हुँदा हुँदा फाइनलमा आफ्नै डोजोका प्रयास शाहीलाई पराजित गरे ।
पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको वर्चश्व रह्यो । सक्षम लामाले स्वर्ण जित्दा निश्चल राईले रजत र श्रीयस शाहीले कांस्य जिते । अर्को कांस्य विजेता सीएमएसका पुजन तामाङ हुन् ।
महिला कातातर्फ आयोजक नेशनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जित्न सफल भइन् । चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आइपीएसकी सलिना लामा र आयोजक नेशनलकी दिनिका राईले कांस्य जिते ।
महिला कुमुतेतर्फ ४० केजीमूनि लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन् । उनले फाइनलमा नेशनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् । लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कास्य जिते ।
हात्तिगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयाेजित प्रतियाेगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरै २५० भन्दा बढी खेलाडीहरु सहभागी छन् ।
प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उदघाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोष्टर शहरमा सम्पन्न भएको उमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक बिजेता बिमल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक बिजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा बाँकी स्पर्धाको खेलहरु शनिबार सम्पन्न हुनेछ।















