काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय क्रिकेट टिममा रहेका आफ्ना ६ खेलाडीलाई सम्मान गरेको छ ।
एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीमा रहेका ६ खेलाडीलाई नेपाल प्रहरीले बुधबार सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी, करण केसी र गुल्सन झा रहेका छन् ।
नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा उनीहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप-२०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिए ।
कार्यक्रममा बोल्दै कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकोमा धेरै गौरव महसुस गरेको बताए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।