कैलाली । धनगढीमा आयोजना भएको यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका कोसी प्रदेशले जितेको छ ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा बागमति प्रदेशलाई ३५ रनले हराउँदै कोसी च्यापियन बनेको हो ।
उपाधिसँगै कोसी प्रदेशले २ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको बागमतिले १ लाख प्राप्त गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कोसीले २५ ओभरमा ७ विकेट क्षतिमा १७१ रन बनायो । वर्षाको कारण खेल २५ ओभरमा झारिएको थियो ।
कोसीका लागि एलिस मण्डलले अर्धशतकीय पारी खेल्दै ५३ रन बनाए । यस्तै सिंवाश बजगाईले अविजित ३० रन, दिपु भुजेलले २१ रन र आशिक मगरलले २० रन बनाए । बागमतिका लागि सुप्रिम हाडा, सार्थक धिताल र अर्थव पौडेलले दुई दुई विकेट लिए ।
जवाफमा बागमति प्रदेशले २४ दशमलव ४ ओभरमा सबै विकेट क्षतिमा १३६ रन मात्रै बनाउन सक्यो । उसका लागि सार्थक धितालले ३३ रन, सुर्यांस कोईराला र रोशन विकले २३÷२३ रन बनाए । कोसीका लागि रविन मण्डलले ३ विकेट, सौजन घिमिरे र प्रतिक पोखरेलले दुई दुई विकेट लिए । फाईनल खेलको प्लेयर अफ द म्याच कोसी प्रदेशका एलिस मण्डल भए । उनले नगद दुई हजार प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका बागमति प्रदेशका रोशन विक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान समेत भए । उनले सर्वोकृष्ट खेलाडी भए बापत नगद १५ हजार र उत्कृष्ट ब्याट्सम्यान भए बापत नगद १० हजार प्राप्त गरे । चार खेल खेलेका उनले १०६ बलमा १४६ रन बनाए । यस्तै १९ ओभर बलिङ गरेका उनले एक मेडन सहित ९४ रन दिएर ४ विकेट लिए । कोसी प्रदेशका कृतिक कामत उत्कृष्ट बलर भए । उनले नगद १० हजार प्राप्त गरे । ३ खेल खेलेका उनले १७ ओभर बलिङ गर्दै एक मेडन सहित ७२ रन दिएर १० विकेट लिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर १४ सदस्यीय नेपाली यु–१६ टीम बनाईनेछ । नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।