काठमाडौं । राजधानीमा जारी मेन्स एसीसी प्रिमियर कपको फाइनल खेलमा सोमबार नेपालले युएई खेल्दैछ ।
नेपाल र युएईबीचको खेल सोमबार बिहान नौ बजेबाट सुरु हुनेछ । युएईलाई पराजित गरेर नेपालले पहिलो पटक एसीया कपमा स्थान बनाउन चाहन्छ ।
नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् । नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र ७ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।
नेपाल र यूएईबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय खेल २०१८ को एसीया कप क्वालिफायरमा भएको थियो । २०१८ अगस्ट ३० मा मलेसियाको किन्नारा ओभलमा भएको खेलमा नेपाल पराजित भएको थियो । यस खेलमा नेपाल ७८ रनले पराजित भएको थियो ।
सो खेलमा नेपालका सुवास खकुरेलले ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । बलिङमा सन्दीप लामीछानेले ४ विकेट लिएका थिए ।
नेपाल र युएईबीच २५ जनवरी २०१९ देखि २८ जनवरी २०१९ सम्म तीन खेलको एकदिवसीय सिरिज भएको थियो । युएईमा भएको सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र युएईबीचको दोस्रो भेट भएको थियो ।
सो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि करण केसी,सन्दीप लामिछाने र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
त्यहि सिरिजको दोस्रो खेलमा नेपालले युएईलाई १ सय ४५ रनले हराएको थियो । यस खेलमा हालका कप्तान रोहित कुमार पौडेलले ५५ रन बनाएका थिए । बलिङ तर्फ सोमपाल कामीले ५ विकेट लिएका थिए ।
सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालले ४ विकेटको जित हात पर्दै ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो । त्यस खेलमा नेपालका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक प्रहार गरेका थिए । बलिङमा करण केसी र पारस खड्काले समान २/२ विकेट लिएका थिए ।
नेपाल र युएईबीचको पाचौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिदेशीय सिरिजका क्रममा भएको थियो । यस सिरिजको पहिलो खेलमा नेपालले ४८ रनको हार व्यहोरेको थियो । मार्च १८ २०२२ मा भएको यस खेलमा नेपालका लागि हालका कप्तान रोहित पौडेलले ४६ रन बनाएका थिए । बलिङमा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिएका थिए ।
सोही सिरिज अन्तर्गको दोस्रो खेलमा नेपाल र युएईबीचको छैटौं भेट थियो । जुन खेलमा नेपाल ९९ रनले पराजित भएको थियो । त्यस खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए । बलिङ तर्फ तत्कालिन कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।
नेपाल र युएईबीचको सातौं खेल गत बर्ष टियु मैदानमा आयोजना भएको नेपाल र युएईबीचको सिरिजको पहिलो खेलमा भएको थियो । नोभेम्बर १४ २०२२ मा भएको खेलमा युएई ८४ रनले विजयी भएको थियो ।
नेपालका लागि गुलशन झाले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएका थिए । सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए ।
सोही सिरिजको दोस्रो खेलमा नेपाल र यूएईको आठौं भेट भएको थियो । नोभेम्बर १६ २०२२ मा भएको यस खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो ।
नेपालका लागि ललितनारायण राजवंशी र सोमपाल कामीले समान ३/३ विकेट लिए । नेपालका लागि गुलशन झाले ३७ तथा कुशल भुर्तेलले ३५ रन बनाए ।
नेपाल र यूएईबीचको नवौं भेट सोही सिरिजको अन्तिम खेलमा भएको थियो । सो खेल नेपालले ६ विकेटले जितेको थियो । नोभेम्बर १८ २०२२ मा भएको खेलमा नेपालका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए।
नेपालका लागि आसिफ शेखले ८८ तथा ज्ञानेन्द्र मल्लले ६४ रन बनाए ।
नेपाल र यूएईबीचको दशौं भेट दुबईमा भएको विश्वकप लिग टू त्रिकोणात्मक सिरिजका क्रममा भएको थियो । मार्च २ २०२३ मा भएको खेलमा यूएई ६८ रनले विजयी भएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा कुशल मल्लले १ विकेट लिएका थिए । नेपालका लागि कुशल मल्लले ६० तथा सन्दीप लामिछानेले २६ रन बनाए ।
नेपाल र युएईबीचको एघारौं भेट मार्च ६ २०२३ मा दुबईमा नै भएको थियो । नेपालका लागि भिम सार्कीले ७० तथा आरिफ शेखले ४३ रन बनाएका थिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान ३/३ विकेट लिएका थिए ।
नेपाल र युएईबीचको बाह्रौ भेट नेपालमा भएको विश्वपक लिग टू का खेलका क्रममा भएको थियो । यो खेल नेपालले १ सय ७७ रनको फराकिलो अन्तरले जितेको थियो ।
यस खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रन बनाएका थिए । बलिङ तर्फ ललित नारायण राजवंशीले ५ विकेट लिएका थिए ।
नेपाल र युएईबीचको तेह्रौं तथा पछिल्लो भेट विश्वकप लिग टू सिरिजको अन्तिम खेलमा भएको थियो । सो खेल नेपालले डीएलएस मेथडमा ९ रनले जितेको थियो ।
यस खेलमा नेपालका लागि भीम सार्कीले ६७ रन बनाएका थिए । बलिङ तर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिएका थिए ।