पोखरा । नेत्रहीन क्रिकेट संघको आयोजनामा भोलि देखि पोखरामा सुरु हुने नेपाल-भारत दुई देशीय टी-२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ ।
नेत्रहीन क्रिकेट संघले आज (सोमबार) पोखरामा पत्रकार सम्मेलन गर्दै सिरिजको तयारी पूरा भएको संघका महासचिव अमृत बरालले बताए ।
‘नेत्रहीन क्रिकेट संघको आयोजनामा मंगलबार देखि पोखरामा सुरुहुने नेपाल भारत दुइपक्षिय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको तयारी पूरा भएको छ, महासचिव बरालले भने, ‘१२ र १३ गते पोखरामा प्रतियोगिता सञ्चालन हुनेछ भने १५, १६ र १७ काठमाडौंको मुलपानी क्रिकेत मैदानमा प्रतियोगिता सञ्चालन हुन्छ ।’
उनका अनुसारको सिरिजको विजेताले ७५ हजार उपविजेताले ४५ हजार र प्लेयर द म्याचले ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
नेपाली टोली भगवती भट्टराई बराल र भारतीय टोली सुष्मा पट्टेलको कप्तानीमा मैदानमा उत्रदैंछ । दुवै टोलीका कप्तानले खेल्न आफूहरु तयार रहेको बताएका छन् ।
नेत्रहीन क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता बैशाख १७ गतेसम्म चल्नेछ । विगत ११ वर्षदेखि दृष्टिविहीन महिला क्रिकेट टोली सक्रिय रुपमा खेलिरहेका छन् । जसमा सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँगको अन्तर्राष्ट्रिय खेल जितेको थियो ।
क्रिकेट बलमा रहेको ध्वनीको सहायताबाट दृष्टिविहीन खेलाडीले क्रिकेट खेल्छन् । क्रिकेट टोलीमा रहेका दृष्टिविहीन खेलाडीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । जसमा बी १ खेलाडी अर्थात् पूर्ण दृष्टिविहीन, बी २ मा मध्यम दृष्टि र बी ३ न्यून दृष्टि भएका खेलाडी हुन्छन् ।
नेत्रहीन क्रिकेट संघले प्रतियोगिताका लागि विगत एक महिनादेखि नै पोखरामा बन्द प्रशिक्षणमा थिए भने २२ सदस्यीय भारतीय टोली सोमबार पोखरा आइपुगेका हुन् ।