काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज सोमबार दुई खेल हुदैछ ।
मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।
मुलपानी मैदानमा हुने खेलमा समूह 'ए' का नेपाल र साउदी अरेवियाबीच खेल हुदैछ ।
दुवै टोली प्रतियोगितामा आ-आफ्नो तेस्रो खेल खेलिरहेका छन् । प्रतियोगितामा अपराजित रहेको नेपाल आजको खेलमा सहज जितका साथ एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसिया तथा दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
पहिलो खेलमा मलेसियासँग पराजित साउदीले दोस्रो खेलमा कतारलाई पराजित गरेको थियो । यस खेलमा जित निकालेर साउदी पनि सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह 'बी' का हङकङ र बहराईनबीच खेल हुदैछ ।
प्रतियोगिताको तेस्रो खेल खेल्न लागेको हङकङ आफ्नो अपराजित यात्रा कायम राख्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गर्न चाहन्छ ।
बहराइन पनि तेस्रो खेलमा दोस्रो जित निकालेर सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ । दुवै खेल बिहान नौ बजे सुरु हुनेछ ।
वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।