काठमाडौं । डिफेन्डिङ च्याम्पियन गुजरात टाईटन्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरि भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा चौथो जित दर्ता गरेको छ ।
लखनउको घरेलु मैदान भारत रत्न अटल बिहारी बाजपेयी ऐकना क्रिकेट स्टेडियममा भएको खेलमा गुजरात ७ रनले विजयी भएको हो ।
गुजरातले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय २८ रन मात्र बनायो।
लखनउका लागि ओपनर तथा कप्तान केएल राहुलले ६१ बलमा ८ चौकाको सहयोगमा सर्वाधिक ६८ रनको अर्धशतकीय ईनिङ खेले ।

अर्का ओपनर कायल मेर्यसले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाउँदा कुर्नाल पान्ड्या २३ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रनमा आउट भए ।
गुजरातका लागि नूर अहमद,मोहित शर्माले समान २/२ तथा राशिद खानले १ विकेट लिए ।
लखनउलाई जितको लागि अन्तिम ६ बलमा १२ रन चाहिँएको थियो । अनुभवी तीव्र गतिका बलर मोहित शर्माले चार विकेटसँगै चार रन दिएपछि गुजरात विजयी भएको हो ।

मोहितले अन्तिम ओभरको पहिलो बलमा केएल राहुललाई दुई रन दिए । दोस्रो बलमा राहुल तथा तेस्रो बलमा मार्कस स्टोइनिस क्याच आउट भए । चौथो बलमा आयुश बदोनी र पाँचौं बलमा दीपक हुँडा रन आउट भए ।
अन्तिम बलमा मोहितले रवि विश्रोईलाई डट बल राख्दै टिमलाई रोमान्चक जित पक्का गराए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।
गुजरातका लागि कप्तान हार्दिक पान्ड्याले ५० बलमा २ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ६६ रनको अर्धशतकीय ईनिङ खेले ।
ऋद्धिमान शाहले ३७ बलमा ६ चौकाको सहयोगमा ४७ रन बनाउँदा विजय शंकर १० रनमा आउट भए ।
लखनउका लागि कुर्नाल पान्ड्या र मार्कस स्टोईनेसले समान २/२ तथा अमित मिश्रा र नभिन उल हकले समान १/१ विकेट लिए ।
छ खेलमा चार जित र दुई हारका साथ १० टोली सहभागी आईपीएलमा गुजरात अंक तालिकाको चौथो स्थानमा कायमै रहेको छ ।
सात खेलमा चार जित र तीन हारका साथ लखनउ दोस्रो स्थानमा कायमै रहेको छ ।