काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि कुशल मल्लले शतक पूरा गरेका छन् ।
कुशलले ५९ बलमा ९ चौका र १० छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।
यो सँगै नेपालले ३९ ओभरमा ६ विकेट गुमाएर २ सय ९ रन बनाएको छ ।
नेपालका कुशल भुर्तेल र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।
कप्तान रोहित पौडेल २३ रन तथा भिम सार्की ३३ रनमा आउट भएका थिए ।
टस हारेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।
क्रिजमा अहिले कुशल मल्ल र सोमपाल कामी रहेका छन् ।
मल्ल १ सय १ रनमा अविजित रहँदा सोमपाल ९ रनमा अविजित रहेका छन्।
कुशलको एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो ।
नेपालका लागि ओडिआईमा शतक बनाउने कुशल छैटौं खेलाडी हुन् ।
नेपालका लागि यो ओडिआईमा सर्वाधिक कम बलमा प्रहार भएको शतक हो ।
यस अघि कप्तान रोहित पौडेलले ९५ बलमा शतक प्रहार गरेका थिए ।