फ्रेन्ड्सविरुद्ध डेब्यु गर्दै खुमलटार

काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन २०७९ आज शुक्रबारदेखि सुरु हुँदैछ र उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रेन्ड्स र खुमलटारबीचको खेल फ्लड लाइट्समा दशरथ रंगशालामा हुनेछ । ललितपुर डर्बी भिडन्त साँझ ५ बजेर ३० मिनेटमा सुरु हुनेछ ।
एफसी खुमलटारले यो खेलसँगै नेपाली फुटबलको माथिल्लो डिभिजनमा डेब्यु गर्नेछ । त्यसैले यो खुमलटार र फ्रेन्ड्सबीचको पहिलो खेल हुनेछ ।
खुमलटार 'बी' डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो । शीर्ष डिभिजनको डेब्यु खेलमा खुमलटार सुखद सुरुआत गर्न चाहन्छ ।
खुमलटार यस पटक उपाधि जित्ने योजनामै रहेको छ । खेलाडी अनुबन्धमा समेत खुमलटार निकै आक्रमक देखिएको थियो ।
खुमलटारका सिईओ विदुर श्रेष्ठले उपाधिकै लागि खेल्ने बताउछन् ।
'हामीले विदेशी लगायत राम्रा खेलाडीलाई अनुबन्ध गरेका छौँ र हाम्रो तयारी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिने छौँ',प्रि-म्याचमा उनले भने ।
खुमलटारका कप्तान रेजिन सुब्बाले टोलीले राम्रो प्रदर्शन गर्नेमा आफु आशावादी भएको बताउँछन् ।
'हाम्रो युवा र अनुभवी खेलाडीहरूको संयोजनले राम्रो नतिजा दिनेछ', उनले भने।
फ्रेन्ड्सले २०३२ देखि माथिल्लो डिभिजन खेल्न थालेको हो । तर, फ्रेन्ड्स अघिल्लो सिजन मुश्किलले रेलिगेसनबाट जोडिएको थियो ।
यस पटक भने शीर्ष ६ मा पुग्ने लक्ष्य फ्रेन्ड्सले लिएको छ ।
फ्रेन्ड्सका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले शीर्ष ६ पुग्ने टोलीको लक्ष्य रहेको बताउछन् ।
'हामीले राम्रो प्रशिक्षण गरिरहेका छौँ र केही मैत्रीपूर्ण खेल खेलेका छौँ। हामीले मैत्रीपूर्ण खेलमा गरेका सबै गल्तीहरूलाई हटाउनेछौँ र उद्घाटन खेलमा जानेछौँ,' उर्जनले भने ।
फ्रेन्ड्सका कप्तान प्रकाश बुढाथोकीले पहिलो खेलको नतिजाले लिगका लागि आफ्नो लक्ष्य निर्धारण गर्ने बताए ।
'यो म्याराथन हो र हामी सुरुमा हतार गर्न चाहँदैनौं। हामीसँग सिनियर खेलाडीहरू लामो समयसम्म शीर्ष स्तरमा खेलिरहेका छन् र यसले हामीलाई फाइदा पुर्याउँछ,' उनले भने ।













%20(1)-1763645320295.jpeg&w=3840&q=75)
