'ए' डिभिजन लिग : सम्पूर्ण जानकारी
1672567841.jpg&w=3840&q=75)
काठमाडौं । नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको आज शुक्रबारबाट सुरु हुँदैछ ।
यस पटकको लिग ४५ औं संस्करणको हो । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस पटक लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।
कुन कुन क्लब ?
यस पटकको लिगमा १४ क्लबले सहभागिता जनाउने छन् । चर्च ब्वाइज युनाईटेड र एफसी खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्दै छन् ।
यस पटकको लिगमा चर्च र खुमलटारसँगै साविक विजेता मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवालाखेल युथ क्लब, संकटा क्लब, न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबले खेल्ने छन् ।
विजेताले कति पाउने ?
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
टेलिभिजन लाईभ
यस पटक लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुनेछ ।
लिगको शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार पाएको कम्पनि एमडीएससी स्पोर्ट्स प्रालिले स्पेस फोरकेलाई ब्रोडकाष्टिङ अधिकार दिएको छ ।
टिकट मूल्य, कहाँ किन्ने ?
लिगका लागि एन्फाले सामान्य पाराफिटतर्फको १०० र भीआईपी पाराफिटतर्फ ३०० रुपैयाँको टिकट मूल्य तोकेको छ।
टिकेटिङ पार्टनरको रुपमा रहेको इसेवाबाट टिकट किन्न सकिनेछ । त्यस्तै दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालाको बाहिर भौतिक रुपमा समेत टिकट किन्न सकिनेछ ।
उद्घाटन खेलमा विद्यार्थीलाई निशुल्क
शुक्रबार हुने उद्घाटनमा विद्यार्थीलाई प्रवेश निशुल्क गरिएको छ । विद्यार्थीले परिचय पत्र देखाएर लिगको उद्घाटन खेल निशुल्क हेर्न सक्ने एमडीएसी स्पोर्टले जनाएको छ ।
पहिलो खेल कसको ?
लिगको पहिलो खेलमा नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
खुमलटारले पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेको हो । खुमलटार 'बी' डिभिजन लिगको उपविजेता बन्दै शीर्ष डिभिजनमा उक्लिएको हो ।
फ्रेन्ड्स अघिल्लो सिजन मुश्किलले रेलिगेसनबाट जोडिएको थियो । यस पटक भने शीर्ष ६ मा पुग्ने लक्ष्य फ्रेन्ड्सले लिएको छ ।











