काठमाडौं । ओरियन्टल एकेडेमीले १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा ओरियन्टलले न्यु स्टार पोललाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको नयाँ च्याम्पियन बन्यो । राहुल तामाङले निर्णायक गोल गरे । उपाधिसंगै ओरियन्टले ३० हजार तथा न्यु स्टार पोलले २० हजार नगद पुरस्कार प्राप्त गरे ।
पेप्सीकोलास्थिा टाउन प्लानिङको मैदानमा तेश्रो स्थानका लागि भएको खेलमा गेटवे एकेडेमीले गोल्डेन बडलाई हरायो । गेटवेले १० हजार तथा गोल्डेन बडले ५ हजार नगद पुरस्कार पाए । ब्रम्हकुञ्ज अनुशासित टिम बन्यो ।
गेटवेका दर्शन केसी उदीयमान खेलाडी चुनिए । ओरियन्टलका निकेश बस्नेत उत्कृष्ट गोलरक्षक, न्यु स्टार पोलका योगेश विष्ट उत्कृष्ट डिफेन्डर, गोल्डेन बडका अनुप खत्री उत्कृष्ट मिडफिल्डर, ओरियन्टलका राहुल तामाङ उत्कृष्ट फरवार्ड तथा ओरियन्टलकै रकी डंगोल उत्कृष्ट प्रशिक्षक चुनिए ।
विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, फेकाका अध्यक्ष श्रीराम दाहाल, प्रतियोगिता संयोजक मुरारीप्रकाश सन्जेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नकआउट प्रतियोगितामा २४ टिमले प्रतिस्पर्धा गरेका थिए ।