काठमाडौं । भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको रुपमा रहेको आईसीसी लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज शनिबार नेपाल र नामिबिया खेल्दै छन् ।
खेल आज शनिबार बिहान ९ बजेबाट टियु मैदान किर्तिपुरमा आयोजना हुदैछ ।
लगातार तेस्रो जितको खोजीमा रहेको नेपालले पहिलो खेलमा नामिबियालाई तथा शुक्रबार भएको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । त्यसैले नेपालले बलियो टोली मैदान उतार्नेछ । शुक्रबार स्कटल्याण्डविरुद्धको खेलमा रहेको टोलीको नै निरन्तरता हुने सम्भावना रहेको छ ।
नेपालले ओपनरका रुपमा आसिफ शेख र कुशल भुर्तेलको जोडी रहने सम्भावना रहेको छ । पहिलो खेलमा शतक बनाएका कुशलबाट आजको खेलमा समेत सोहि अपेक्षा गर्न सकिन्छ । पहिलो खेलमा शुन्य रनमा नै आउट भएका आसिफबाट दोस्रो खेलमा समेत ठूलो ईनिङ बन्न सकेन आजको खेलमा भने आसिफले खेल्न आवश्यक रहेको छ । नेपाललाई बलियो स्थितिमा पुर्याउन कुशल र आसिफको जोडीले राम्रो सुरुआत दिनुपर्ने हुन्छ ।
तीन नम्बरमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहने सम्भावना छ । ज्ञानेन्द्रले अन्तराष्ट्रिय क्रिकेटमा पछिल्लो केही खेल यता देखाएको लयलाई जिम्मेवारीका साथ अघि बढाउन जरुरी रहेको छ । तर, अघिल्ला दुई खेलमा उनीबाट जिम्मेवार ब्याटिङ देखिएको थिएन ।
चौथो र पाँचौ स्थानमा दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले स्थान बनाउने छन् । अघिल्लो खेलमा दीपेन्द्रको ब्याटबाट विश्वकप लिग टू को खेलमा घरेलु मैदानमा उनले ठूलो पारी खेलेकामा आजको खेलमा पनि सोही अपेक्षा रहेको छ । कप्तान पौडेलले सदा झैं आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ ।
छैटौं नम्बरमा ब्याटर सन्दीप जोराको सम्भावना रहेको छ । अघिल्लो खेलमा समेत राम्रो र जिम्मेवारी पूर्ण ब्याटिङ गरेका जोराले छैटौं नम्बरमा खेल्ने सम्भावना प्रवल रहेको छ ।
शुक्रबारको खेलमा नेपाललाई जिताउन ठूलो योगदान गरेका अलराउण्डर कुशल मल्ल सातौं स्थानमा रहँदा आठौं नम्बरमा गुल्सन झा को सम्भावना रहेको छ । कुशल लामो सट प्रहार गर्न सक्ने विस्फोटक ब्याटरका साथ केही ओभर बलिङमा समेत टोलीको साथ दिने खेलाडी हुन् । झा तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङको समेत क्षमता राख्छन् ।
नवौं र दशौं स्थानमा तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामी रहने छन् । केसी र सोमपाल तीव्र गतिका बलरका साथ तल्लो क्रममा लामो सटका साथ ब्याटिङ समेतको क्षमता राख्छन् ।
एघारौं नम्बरमा पूर्व कप्तान सन्दीप लामिछाने रहने छन् । लामो समय पछि टोलीमा फर्किएका पूर्व कप्तान लामिछानेको पहिलो खेलको प्रदर्शन राम्रो नै रहेको थियो । लामिछाने नेपाली बलिङका प्रमुख हतियार हुन् ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख (विकेट किपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),सन्दीप जोरा,गुल्सन झा,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने