काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले विश्वकप लिग टू मा अब १० वटा फाईनल खेल बाकीँ रहेको बताएका छन् ।
घरेलु मैदानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा स्कटल्याण्डलाई हराएपछि पत्रकारहरुसँगको कुराकानीमा ऐरीले अब १० फाईनल खेल बाकीँ छ भनेर खेलिरहेको बताए ।
'टिममा राम्रो माहोल बनिरहेको छ । सर(मोन्टी)ले हामीसँग १२ गेम रहेको छ यो १२ वटा फाईनल हो भन्नुभएको छ । २ वटा जितियो अब १० वटा फाईनल बाकीँ हो । खेल एउटा एउटा गरि हेरि रहेका छौ ।' ऐरीले भने 'सर आउनु भएपछि टोलीको माहोल फरक बनेको छ । अबका गेमहरुमा राम्रो प्रदर्शनका साथ जित्ने हो ।'
स्कटल्याण्डसँगको खेलमा प्लेयर अफ दि म्याच बनेका दीपेन्द्रले स्कटल्याण्डविरुद्धको खेलमा अविजित रहदै ८५ रनको अर्धशतकीय इनिङ खेले । दीपेन्द्रले एक विकेट समेत लिएका थिए । विश्वकप लिग टूको खेलमा खास सम्झनायोग्य प्रदर्शन गर्न नसकेका दीपेन्द्रले आजको खेलमा लिग टूका लागि पहिलो अर्धशतक समेत बनाएका थिए ।
'ग्राहो त त्यस्तो थिएन जे रोल भनेर पठाको थियो । त्यही रोल गरिरहेको थिए । त्यो बेला सिचोईसन साझेदारीका लागि थियो । सुरुमा चै साझेदारी बनाउन लागे । लास्टमा चै फिनिस आवश्यक भएर फिनिस गरे । त्यस्तो प्रेसर चै फिल भएन ।' उनले भने 'टप अर्डर या मिडल अर्डर जेमा खेले पनि गेम फिनिस गरे भने आनन्द लिन्छु । फिनिसको रोल गर्न पाउँदा चै खुसी लाग्छ ।'
७७ रनमा ५ विकेट गईसकेको अवस्थामा दीपेन्द्रले कुशल मल्लसँग मिलेर १ सय रनको साझेदारी गरेका थिए । आफुले कुशललाई आफ्नो रेन्जमा आएको बललाई बाहिर कटाउन सके कटा नत्र सिङ्गल डबल गर्नु भनेर भनिरहेको उनले बताए ।
'त्यस्तो कुरा त भएको थिएन कुशलले एग्रेसिभ खेलिरहेको थियो । कुशललाई भनिरहेको थिए आफ्नो रेन्जमा आएको बललाई सके बाहिर कटा नत्र सिङ्गल डबल गर्नु पर्छ ।म यताबाट रोटेट गरिरहेको छु । तँलाई साथ दिन्छु भनेको थिए त्यही भयो,' ऐरीले भने 'मोन्टी सरले भन्नु भएको जस्तो एक बल उत्कृष्ट गर्ने भन्ने थियो । ठूलो रन चेज गरिरहेको भनेर दवाव थिएन ।'
सर आएपछि नकारात्मक कुरा टिमबाट हराएको र हरेक विषयलाई सकारात्मक रुपले हेर्ने वातावरण बढेकाले टिमको माहोल राम्रो रहेको उनले बताए ।