'ए' डिभिजन लिगको खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम स्थगित
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक सूचना निकाल्दै खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
यस अघि एन्फाले माघ २ गते सोमबार खेल तालिका सार्वजनिक गरिने जनाएको थियो ।
पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले सोमबार शोक विदा दिएको कारण पूर्वनिर्धारित कार्यक्रम अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।
शीर्ष डिभिजनको लिग फागुन १९ गतेबाट सुरु हुनेछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।
फेयर प्ले अवार्डको नगद पुरस्कार वृद्धि गर्दै ३ लाख पुर्राईएको छ ।
मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।
प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।















