काठमाडौं । बाँके जिल्लाको खजुरामा सञ्चालन हुदै आएको स्व : श्याम थापा स्मृति फुटबल प्रतियोगिता यस वर्ष माघको अन्तिम साता आयोजना हुने भएको छ ।
पुस २७ गते पृथ्वी जयन्तीबाट सुरु हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले माघ २१ गतेका लागि सरेको आयोजकले जानकारी दिएको छ ।
बाँके बर्दिया मैत्री समाज जापानले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको यस प्रतियोगिता खजुरा गाउँपालिका मैटहवा मा.वि सैनिकको खेल मैदानमा सञ्चालन हुदै आएको छ ।
जय किसान स्पोर्टस क्लब खजुरा सैनिकको आयोजना रहने यस प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरेर स्तरीय टिमलाई सहभागी गराउने लक्ष्य राखिएको क्लबमा महासचिव दिपक राणाले बताएका छन् ।
दोस्रो संस्करणको यस प्रतियोगितामा भारतीय क्लब सहित पश्चिम नेपालका चर्चित क्लबलाई आमन्त्रण गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख २१ ह्जार, दोस्रोले ६१ ह्जार सहित नगद, ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका विधागततर्फका उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पश्चिम नेपालका चर्चित फुटबलर श्याम थापाको स्मृतिमा यस प्रतियोगिताका आयोजना गरिएको हो । तत्कालिन मध्यपश्चिम र भेरी अञ्चल टिमबाट फुटबलमा महत्वपुर्ण योगदान गरेका थापाकै स्मृतिमा बाँकेको खजुरामा प्रतियोगिताको सुरुवात गरिएको हो ।