काठमाडौं । बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधबार राति सीएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४-३ गोल अन्तरले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा स्थान बनाएको हो ।
रोनाल्ड अरुजोले खेलको चौंथो मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा इन्टरसिटीका ओरिओल सोल्डेभिला पुइगले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ६६ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
७४ औं मिनेटमा पुइगले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को अवस्थामा ल्याए ।
राफिन्हाले खेलको ७७ औं मिनेटमा गोल गर्दा बार्सिलोना ३-२ ले अघि रह्यो ।
तर,८६ औं मिनेटमा पुइगले ह्याट्रिक पूरा गर्दै इन्टरसिटीलाई ३-३ को बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेट ३-३ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
त्यसपछि खेलको १०३ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई ४-३ को जित दिलाए ।
एट्लेटिको मड्रिड पनि अन्तिम १६ मा पुगेको छ ।
एट्लेटिकोले रियल ओभिदोलाई २-० ले पराजित गर्यो ।