काठमाडौं । ह्यारी केन चम्किएपछि इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले हराएको हो ।
खेलको ४८ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा टोटेनहमको अग्रता २-० को बन्यो ।
खेलको ६८ औं मिनेटमा माट दोहर्टिले गोल गर्दा टोटेनहमको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको ७२ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई ४-० को जित दिलाए ।
जितसँगै टोटेनहम ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
क्रिस्टल प्यालेस २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै नटिङघम फरेस्टले साउथह्याम्पटनलाई १-० ले हराएको छ ।
यस्तै लिड्स युनाईटेड र वेस्ट ह्यामले २-२ गोलको बराबरी खेल्दा उल्भ्स र एस्टन भिल्लाले १-१ गोलको बराबरी खेलेका छन् ।