पेलेको स्मृतिमा राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण

काठमाडौं । अफ्रिकी राष्ट्र केप भर्डले आफ्नो देशको राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरेको छ ।
विश्व फुटबलका लेजेण्ड पेलेको स्मृतिमा स्टाडियो नेसनल डी काबो भर्डको नाम 'पेले स्टेडियम' नामाकरण गरिएको छ।
केप भर्डका प्रधानमन्त्री सिल्भाले राष्ट्रिय रंगशाला पेलेको नाममा नामाकरण गरिएको बताएका छन् ।
१५ हजार दर्शक क्षमताको उक्त रंगशाला राजधानी प्राइया नजिकै रहेको छ ।
फिफा अध्यक्ष जियानी इनफान्टिनोले हालै हरेक देशले पेलेको स्मृतिमा एक रंगशालाको नाम पेलेको नाममा राख्नु पर्ने धारणा राखेका थिए ।
विश्व फुटबलकै लेजेन्ड ब्राजिलियन पेलेको ८२ वर्षको उमेरमा गत हप्ता निधन भएको थियो ।
तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले पछिल्लो समय क्यान्सर रोगबाट पीडित थिए ।
पेलेले सन् १९५८, १९६२ र १९७० मा ब्राजिलका लागि विश्वकप उपाधि जितेका थिए ।
पेले चारवटा विश्वकपमा गोल गर्ने खेलाडी मध्येका एक हुन् ।
पेलेले २१ वर्षे फुटबल करियरमा कीर्तिमानी १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका थिए ।
पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् ।
पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित गरिएको थियो ।










-1763385934768.jpeg&w=3840&q=75)


