काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई हराएको छ ।
बुधबार राति भएको खेलमा सिटीले लिड्सलाई ३-१ गोल अन्तरले हराएको हो ।
सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । रोड्रीले एक गोल थपे ।
लिड्सका पास्कल स्ट्रुज्कले एक गोल फर्काए ।
पहिलो हाफको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५१ औं मिनेटमा हालाण्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

खेलको ६४ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए ।
यस गोलसँगै हालाण्डले प्रिमियर लिगमा आफ्नो २० औं गोल पूरा गरे ।
हालाण्डले प्रिमियर लिगमा सर्वाधिक छिटो २० गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।
उनले १४ खेलमा २० गोल पूरा गरेका हुन् ।
त्यसपछि खेलको ७३ औं मिनेटमा लिड्सका पास्कलले गोल गरेपनि सिटी ३-१ ले विजयी भयो ।
यस जितसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
सिटीले १५ खेलमा ३५ अंक जोडेको छ ।
लिड्स १५ खेलमा १५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।