काठमाडौं । ब्राजिलले फ्रान्सेली लिजेन्ड जिनेदिन जिदानलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनाउने विकल्पमा छलफल अघि बढाएको छ । कतार विश्वकपमा निराशाजनक नतिजापछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिने घोषणा गरेका छन् । ब्राजिल नयाँ प्रशिक्षकको खोजीमा छ । ब्राजिलले पेप ग्वार्डिओलालाई नयाँ प्रशिक्षकको रुपमा हेर्दै आएको थियो । तर पेपले म्यानचेस्टर सिटीमै निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन् । सोही कारण ब्राजिल नयाँ विकल्पमा अघि बढेको हो ।
कतार विश्वकपमा प्रि–क्वार्टरफाइनलबाटै बाहिरिन परेपछि टिटेले पद छाड्ने निर्णय गरेका थिए । ब्राजिललाई कतार विश्वकपको उपाधिको मुख्य दाबेदार मानिएको थियो । तर टिमले सेमिफाइनल सम्मकै यात्रा तय गर्न सकेन । ब्राजिलले पेनाल्टी सुटआउटमा खेल क्रोएसियासँग ४–२ ले गुमाएको थियो । स्टार खेलाडी नेयमारले रुदै मैदान छाडेका थिए ।
एक स्पेनिस मिडियाका अनुसार ब्राजिलले तीन पटकका च्याम्पियन्स लिगका विजेतालाई टिमको नेतृत्व सुम्पिन प्रयास गरेको छ । ब्राजिलले सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई सहमत गराउन असफल बन्यो । उनले भर्खरै क्लबसँग नयाँ सम्झौता गरेका छन् । उनी सन् २०२५ सम्म क्लबमै बस्नेछन् ।

जिदानलाई रियल मड्रिडका पूर्व खेलाडी तथा ब्राजिली लिजेन्ड रोनाल्डोले समर्थन गरेका छन् । रोनाल्डोको ब्राजिलियन फुटबल संघका अध्यक्षसँग राम्रो सम्बन्ध छ ।
जिदानले भने फ्रान्सेली टिमको भावि नेतृत्वको अपेक्षा गरेर बसेका छन् । उनले यसअघिनै ६ पटक विभिन्न प्रस्तावलाई अस्विकार गरिसकेका छन् । उनलाई धनी क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक बनाउन चाहेको थियो । सन् २०१८ को विश्वकप विजेता प्रशिक्षक डिडियर डेसच्याम्पको फ्रान्ससँगको सम्झौता सन् २०२४ को युरो कपसम्म रहेको छ ।
उनै डेसच्याम्पले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकपको फाइनलसम्मको यात्रा तय गराएका छन् । बुधबारमात्र मोरक्कोलाई हराउँदै फ्रान्स कतार विश्वकपको फाइनल प्रवेश गरेको छ । आईतबार फ्रान्सले अर्जेन्टिनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।