काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ ।
लगातार दोस्रो जित हात पार्न क्रममा सुदुरपश्चिम प्रदेशले शुक्रबार लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई १०० रनले पराजित गरेको हो ।
सुदुरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा अलआउट हुदै मात्र ८० रन बनाउन सक्यो ।
लुम्बिनीका लागि ओपनर आकाश त्रिपाटीले २३ बलमा २२ रन तथा अर्का ओपनर तथा कप्तान देव खनालले १३ रन बनाए । मनोज मगरले ११ रन जोड्दा लुम्बिनीका अन्य खेलाडीले दोहोरो अंकको आकंडा समेत पार गर्न सकेनन् ।
लुम्बिनीलाई कम रनमा रोक्न सुदुरपश्चिमका लागि आकाश चन्दले ५ विकेट लिए । हेमन्त धामीको नाममा ३ तथा कैलाश ऐरको नाममा १ विकेट रह्यो ।
त्यस अघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.५ ओभरमा अलआउट हुदै १ सय ८० रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि दिपक बोहोराले ७३ बलमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । गजेन्द्र बोहोराले १९ तथा दीपक बोहोराले १७ रन बनाए । विशाल ऐरले १६ रन जोड्दा हेमन्त धामीले १५ रन जोडे ।
लुम्बिनीका लागि विशाल बिक्रम केसीले ३ तथा नर सार्की र निर्मल गुरुङले समान २/२ विकेट लिए । रमेश कुर्मी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिएका थिए ।
सुदुरपश्चिम लगातार दोस्रो खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यता, डिफेन्डिङ च्याम्पियन लुम्बिनी आफ्नो पहिलो खेल हारका साथ सुरु गरेको छ । लुम्बिनी छैठौं स्थानमा कायम रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् । यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।