काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ ।
नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ ।
नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ । तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन ।
नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।
यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।
बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-० र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहदै बाहिरिएको छ ।