काठमाडौं । आयरल्याण्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ।
बुधबार भएको खेलमा स्कटल्याण्डलाई ६ विकेटले हराउँदै आयरल्याण्डले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।
स्कटल्याण्डले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ६ बल अगाबै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
आयरल्याण्डका लागि कुर्टिस क्यामफेरले ३२ बलमा ७ चौका र २ छक्काको मद्दतले ७२ रनको अर्धशतकीय पारी खेले । जर्जि डोकरिलले अविजित ३९ रन बनाए । लुर्कन टुकरले २० रन जोड्दा कप्तान एन्डी बालबर्नी र ह्यारी टेक्टरले समान १४/१४ रन बनाए ।
स्कटल्याण्डका लागि ब्राड होएल,मार्क वाट,मिचेल लिग्स र सफियान सरिफले समान १/१ विकेट लिए ।
त्यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । स्कटल्याण्डका लागि मिचेल जोन्सले ५५ बलमा ८६ रन बनाए ।
जोन्सले ८६ रनको अर्धशतकीय ईनिङमा उनले ६ चौका र ४ छक्का प्रहार गरे । कप्तान रिचि बेरिङ्टनले ३७ रन बनाउँदा म्याथ्यु क्रसले २८ रन बनाए । मिचेल लेग्सले अविजित १७ रन जोडे ।
आयरल्याण्डका लागि कुर्टिस क्यामफेरले २ तथा जोस लिटिल र मार्क अडिरले समान १/१ विकेट लिए ।
जितसँगै आयरल्याण्ड २ खेलमा २ अंकका साथ समूह 'बी' को तेस्रो स्थानमा रहेको छ । स्कटल्याण्ड भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
बुधबार नै हुने दोस्रो खेलमा समूह 'बी' का जिम्बाबे र वेस्ट इण्डिज खेल्दै छन् ।