काठमाडौं । काठमाडौं जिल्ला अदालतले नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ। त्यसपछि थुनछेकको बहसको काम सुरू हुनेछ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।
असोज २७ गतेबाट लागू हुने गरि पाँच दिनको हिरासतमा राख्ने म्याद हिजो सकिएको थियो । तर, मंगलबार सार्वजनिक बिदा परेकोले उनलाई म्याद थपका लागि बुधबार पुनः अदालतमा पेश गरिएको थियो । सन्दीपलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको हो ।
सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन्दीपले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्याएको र त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।
सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् । उनले आफु निर्दोष रहेको र आफुले छिटो भन्दा छिटो न्याय पाउनेमा विश्वस्त रहेको बताउँदै आएका छन् ।