काठमाडौं । च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोल रहितको बराबरी खेल्दै क्लब ब्रुग इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।
यसअघि च्याम्पियन्स लिगको सबै नौ खेलमा समूह चरणबाटै बाहिरिएको क्लब ब्रुगले जित्नैपर्ने दबाबमा रहेको एट्लेटिको मड्रिडलाई निराश पार्न सफल भयो । यसका साथै ब्रुग च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने दोस्रो बेल्जियन क्लब बनेको छ ।
यो झट्काले एथ्लेटिकोलाई समूह बीबाट अघि बढ्न कठिन बनेको छ । क्लब ब्रुग १० अंकमा उक्लिदा एट्लेटिको भन्दा ६ अंकले अगाडि रहेको छ ।
प्रतियोगितामा जित विनाको यो एट्लेटिकोको लगातार तेस्रो खेल थियो।
एथ्लेटिको र बार्सिलोनाले ट्रान्सफरको लागि सम्झौता गरेपछि एन्टोनियो ग्रिजम्यानले खेलमा सुरुआत गरेका थिए । तर फ्रान्सेली स्ट्राइकरले मेट्रोपोलिटानो स्टेडियममा आफ्नो टोलीलाई आवश्यक जित दिन सकेनन् ।
एथ्लेटिकोका लागि ग्रिजम्यानले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन् । मिग्नोलेटले एथ्लेटिकोको आक्रमणलाई रोक्न खेलभर धेरै बचाउ गरे ।
च्याम्पियन्स लिगको अर्को भेटमा अब क्लब ब्रुगले पोर्टोलाई र एथ्लेटिकोले लेभरकुसेनलाई स्वागत गर्नेछन ।