काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो ।
मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जित निकालेको हो ।
खेलको १७ औं मिनेटमा स्कट एरिफिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २४ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

५५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
६६ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो ।
खेलको ७६,८० र ८१ औं मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गरे ।
उनी च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक चाँडो ह्याट्रिक पूरा गर्ने खेलाडी बने ।
सलाहको ह्याट्रिकसँगै लिभरपुल ६-१ ले अघि रह्यो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई ७-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ ।
समूह ए को लिभरपुल दोस्रो स्थानमा रहेको छ ।
रेन्जर्स अंक विहीन रहदै पुछारमा रहेको छ ।