काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग र सिजनको सबैभन्दा महत्त्वपूर्ण खेलमा इन्टर मिलानलाई क्याम्प नोउमा स्वागत गर्दैछ । आज स्पोटिफाई क्याम्प नोउमा बार्सिलोनालाई हार्ने छुट छैन । खेल राति सवा एक बजे हुनेछ ।
सान सिरोमा गत हप्ताको पराजय पिडादायी र विवादास्पद रह्यो । यसले बार्साका लागि यो खेल गर या मर बनाइदिएको छ । समूह चरणमा पहिलो टाइब्रेकरको रूपमा हेड–टू–हेड रेकर्ड गणना गर्ने यूईएफएको पछिल्लो नियमका कारण बार्साले इन्टरसँग हारे भने च्याम्पियन्स लिगबाट बाहिरीनेछ भने बायर्न म्युनिखले अर्को खेलमा भिक्टोरिया प्लजेनसँग कम्तिमा एक अंक ल्याए पनि अर्को चरणमा जाने निश्चित छ ।
बराबरीको नतिजा पनि व्यावहारिक रूपमा बार्सिलोनालाई फाइदाजनक हुने छैन । त्यसैले जित बाहेक अरू कुनै परिणाम स्वीकार्य छैन । यदि दुई गोलको अन्तरले जित्छ भने, बार्सिलोनाले इन्टरमाथि हेड–टू–हेड फाइदा पाउनेछ र दोस्रो स्थानमा म्याच डे चार समाप्त गर्नेछ । यसरी अन्तिम दुई समूह खेल अघि आफ्नो भाग्य नियन्त्रण गर्ने अवसर उसलाई छ ।

जाभी हर्नान्डेजलाई उत्कृष्ट टोली छनोट र रणनीति तय गर्न सकस अवश्य छ । खेलाडीले पनि उत्कृष्ट खेल्नु पर्छ र महत्वपुर्ण कुरा रोबर्ट लेवान्डोस्कीले आफ्नो उत्कृष्ट लय पुनः पत्ता लगाउनु पर्छ । बार्साको भाग्य उनीमाथि केही हदसम्म निर्भर रहनेछ । इन्टर मिलानले नि सन्देह यस अघिकै ’डिफेन्सिभ’ सूत्र दोहोर्याउन प्रयास गर्नेछ । जसबाट उसले गत हप्ता ठूलो नतिजा पाएको थियो । त्यसैले बार्साले इटालियन क्लबको ब्याकलाइन तोड्न आक्रमक हुँदा धैर्य समेत रहनु पर्छ ।
एक गल्तीले मात्र पनि बार्साको च्याम्पियन्स लिग यात्रा आज राति समाप्त हुन सक्छ । क्याम्प नोउ पुरा सोल्डआउट छ, घरेलु समर्थकको भिडले प्रमुख भूमिका खेल्नुपर्नेछ । यो धेरै, धेरै तनावपूर्ण हुनेछ र दबाब ठूलो छ । यो निर्णय गर्ने समय हो । प्रशिक्षक जाभीले बार्सिलोनाको च्याम्पियन्स लिगको इन्टर मिलानविरुद्धको खेललाई ’फाइनल’ जस्तै भनेर वर्णन गरेका छन्, किनभने उनको टोलीले एलिमिनेशनबाट बच्न खोजेको छ ।
सिमोन इन्गाजीको इन्टरले यसअघि बार्सालाई १ – ० ले हराउदै मनोबल आफ्नो पकडमा राखेको छ । सिरि एमा जितको सासुओलोलाई २–१ ले हराएको छ । इडेन जेकोले दुई गोल गरे । इन्टर १५ अंकको साथ घरेलु तालिकामा सातौं स्थानमा छ ।
इटालियन टोली गत सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ मा लिभरपुलसँग पराजित भएको थियो । ब्ल्याक एन्ड ब्लूजले २०१९–२० मा समूह चरणमा अन्तिम पटक क्याम्प नोउमा यात्रा गर्दा २–१ ले हार बेहोरेको थियो, तर बार्सिलोनाले आफ्ना पछिल्ला ६ च्याम्पियन्स लिगका तीन खेल आफ्नै समर्थकहरूको अगाडी हारेको छ ।
यस्तो छ दुवै टोलीको अवस्था :
बार्सिलोनाले सेल्टाविरुद्धको खेलमा चोटबाट फर्केका फ्रेन्की डी जोङलाई स्वागत ग¥यो, तर एन्ड्रियास क्रिस्टेनसेन, हेक्टर बेलेरिन, रोनाल्ड अराउजो, मेम्फिस डेपे र जुलेस काउन्डे साइडलाइनमा छन् ।
मुख्य प्रशिक्षक जाभीले सेल्टाविरुद्ध सुरु गरेको टोलीबाट परिवर्तन गर्ने सम्भावना छ । जसमा उस्माने डेम्बेले, अन्सु फाती, सर्जी रोबर्टो र एरिक गार्सिया सुरुआतको लागि लाइनमा छन् । मार्कोस अलोन्सो लेफ्ट–ब्याकमा, जेरार्ड पिके र एरिक गार्सिया सेन्टरमा हुँदा मिडफिल्डमा परिवर्तन हुने सम्भावना छैन । गाभी, पेड्री र सर्जियो बुस्केट्स यहाँ सेट छन् । फ्रान्क केसी हालै तिघ्राको समस्याका कारण बाहिर थिए तर यो खेलको लागि टोलीमा फर्किएका छन् ।
इन्टरको लागि डालबर्ट, मार्सेलो ब्रोजोभिक, एलेक्स कोर्डाज, जोआकिन कोरिया र ग्याब्रियल ब्राजाओ बाहिर छन् । रोमेलु लुकाकु उपलब्ध हुने छैनन् । उनलाई मांसपेशीको चोटको कारण अगस्टको अन्त्यदेखि बाहिर राखिएको थियो । तर सुरुआति ११ मा भने पर्ने सम्भावना कम छ । इडेन जेको, लाउटारो मार्टिनेजसँगै फिचर हुनेछन्, जबकी डेन्जेल डम्फ्रिजले राइट विंग–ब्याकको रूपमा खेल्ने छन् । तर फेडेरिको डिमार्को पनि लाइनमा छन् ।
बार्सिलोनाको सम्भावित सुरुआती ११ :
टर स्टेगन, रोबर्टो, पिके, गार्सिया, अलोन्सो, गावी, बुस्केट्स, पेड्री, डेम्बेले, लेवान्डोस्की, फाती
इन्टरको सम्भावित सुरुआती १ १ः
ओनाना, स्क्रिनियर, डी व्रिज, बास्टोनी, डम्फ्रीस, बरेल्ला, च्याल्हानोलु, मिखटरियान, डिमार्को, मार्टिनेज, जेको