काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले भोलि बुधबार थाइल्याण्डको सामना गर्दैछ।
भियतनामको फु थो स्टेडियममा नेपालले बलियो टोली थाइल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।
थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको योजनामा रहेको छ । नेपाल पहिलो खेलमै थाइल्याण्डलाई हराउन चाहन्छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले थाइल्याण्डविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।
‘यो समूहका सबै टिमको स्तर उस्तै छ जस्तो लाग्छ। हामी सबै विपक्षी टिमलाई सम्मान गछौँ। कुनै पनि खेल सजिलो हुनेछैन। यद्यपि हाम्रो लक्ष्य अधिकतम अंक बटुलेर छनोट हुने हो,' मंगलबार आयोजित प्रि-म्याच कन्फरेन्समा श्रेष्ठले भने, 'थाइल्याण्डसँगको पहिलो खेलमा हाम्रो लक्ष्य जित नै हुनेछ।’
छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपाली टोलीका कप्तान प्रशान्त लक्समले सबै खेलमा शतप्रतिशत मेहेनेत गरेर खेल्ने बताए ।
‘सबै खेलमा शतप्रतिशत मेहेनत गर्नेछौँ। सबै खेलमा संयमता अपनाउनेछौँ,’ प्रशान्तले भने ।
थाइल्याण्डका मुख्य प्रशिक्षक पिपोब अनमोले समूहका सबै टिम बलिया रहेको र उनीहरुको सामना गर्न टिम तयार रहेको बताए।
‘हाम्रो तयारी राम्रो छ। नेपालको सामना गर्न हामी तयार छौँ। नेपाल सजिलो विपक्षी होइन। नेपाली खेलाडीहरु प्राविधिक रुपमा कुशल छन्,’ उनले भने।
छनोट अन्तर्गत नेपालले शुक्रबार आयोजक भियतनाम र आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।